इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिए।
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा भनेका छन्। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया-समोसा खाँदै अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु हास्यास्पद भएको टिप्पणी गरे। ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ,’ ओलीले भने, ‘अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो।’
विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिंगो पार्टी एकजुट हुनुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने उनले बताए। अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमार्फत पार्टीको बदनामी गर्ने कार्य रोक्न निर्देशन दिए। यसैगरी अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको दाबी गरे। प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नरहेको टिप्पणी गरे।
खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया नबुझेको र नतिजा दिन नसक्ने उनको भनाइ छ। नाच्न र मादल बजाउन नजान्नेलाई जिम्मेवारी दिँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्दै उनले उरन्ठेउला व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए। समय बाँकी हुँदै प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक ढङ्गले चुनावको नाटक गरिएको दाबी गर्दै ओलीले संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिए।

