२ भदौ २०८३, मंगलबार 1787068654
समाचार

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

यस राष्ट्रिय समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले वार्षिक करिब ७ लाख युवा विदेश जाँदा झन्डै १ लाख ५० हजारभन्दा बढी मानिस ठगीमा पर्ने गरेको बताएका छन् ।

भिसा दिने र काम दिलाउने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको र ठगीलाई धन्दाकै रूपमा चलाइएको उनको भनाइ छ ।

ठगी गर्नेहरुलाई कडा कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए तत्काल संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।