गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज आयो।

केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इट्टाका गाह्रो उप्कन थालेपछि मानसिंह, उनकी श्रीमती चित्रकुमारी र दुई वर्षका नाति आत्तिएर सडकतिर दौडिए। पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो र हेर्दाहेर्दै उनीहरूको चारतले घर जगैदेखि गर्ल्याम्म ढल्यो।
‘केही मिनटमै घर गल्र्याम, गुर्लुम् ढल्यो, मैले त केही सोच्नै सकिनँ, होसै हराए जस्तो भयो,’ ५९ वर्षीय मानसिंह गुरुङले भने। शहिदलखन गाउँपालिका–१ ठूलो दिप्लिङबाट बसाइँ सरेर आएका मानसिंहले नेपाल प्रहरीको सेवा र वैदेशिक रोजगारीको कमाइ जोरजाम गरेर २०६६ सालमा घडेरी जोडेका थिए। त्यसपछि भूकम्पलगत्तै २०७४ सालमा ७७ लाख रुपैयाँ खर्च गरेर उनले चारतले घर बनाएका थिए। जीवनभरको कमाइ खर्चिएर बनाएको घर निर्माण भएको १० वर्ष नबित्दै जगैदेखि ढलेर आडैमा रहेको छिमेकी किसनदेवको घरमा समेत क्षति पुगेको छ।
घर ढल्दा भाडामा बस्ने ठेकेदार भित्रै परे पनि धन्न कुनै मानवीय क्षति भएन। तर घर ढलेको दृश्य प्रत्यक्ष देखेकी ५३ वर्षीया चित्रकुमारी अझै त्यो भयावह अवस्थाबाट बाहिर आउन सकेकी छैनन्। ‘१७/१८ वर्ष भयो यहाँ आको, धेरै वर्ष अरुकोमा भाडा गरेर बसियो, बल्लतल्ल दुःखसजिलो गरेर हामीले पनि आफ्नै घर ठड्याएका थियौँ,’ चित्रकुमारीले भनिन्, ‘आज सोच्दै नसोचेको भयो, आँखैअघि घर लड्दा केही सोच्नै सकेको छैन, यस्तो दुःख कसैलाई नहोस्।’ अहिले गुरुङ परिवार स्थानीय सन्तबहादुर गुरुङको घरमा आश्रित छ। सेना, प्रहरी र स्थानीयले ढलेको घरबाट केही महत्त्वपूर्ण कागजात, फर्निचर र लत्ताकपडा निकालेका छन्। राज्यले कल्भर्ट बनाउँदा लापरबाही गरेकै कारण आफूहरूको यस्तो दुरावस्था आएको मानसिंहले गुनासो गरे। विकास निर्माणमा हुने स–साना गल्तीले परिवार नै विस्थापित हुनुपरेकाले राज्यले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
पीडित परिवारलाई गोरखा नगरपालिकाले तत्कालका लागि २५ हजार र वडाध्यक्ष कुलबहादुर कुँवरले ५० हजार नगद सहयोग गरेका छन्। पुनर्वासका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत चार लाख रुपैयाँ उपलब्ध गराउन सकिने गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताएका छन्। साथै विभिन्न सङ्घसंस्थाले उनीहरूलाई खाद्यान्न सहयोग पुर्याएका छन्।

