३ भदौ २०८३, बुधबार 1787152553
Banner

६३  सासंदको समर्थन सहित वागमती एमालेका  किरण थापाले मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी को  समर्थन जुटाएपछि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका हुन्। उनको दाबीमा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टी का २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ। थापामगरको दाबी पेस गर्ने क्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै बागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। यसअघि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले भदौ १ गते प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। एमालेले साउन ६ गते बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। त्यसको एक सातापछि साउन २७ गते उनले ६३ प्रदेशसभा सदस्यको समर्थनमा विश्वासको मत पाएका थिए। तर सत्ता समीकरणमा आएको परिवर्तनसँगै करिब एक वर्षमै उनको सरकार ढलेको हो।

हाल बागमती प्रदेशसभा १०४ सदस्यीय छ । सुरुमा ११० सदस्य रहेको प्रदेशसभाका ६ सदस्यले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि सदस्य संख्या १०४ मा झरेको हो। अहिले नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।

एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयनलाई लिएर यसअघि विवादसमेत भएको थियो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै किरण थापामगरलाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई संसदीय दलको नेतामै कायम राख्दै थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो।

अब प्रदेश प्रमुख देवकोटाले संवैधानिक व्यवस्थाअनुसार थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्। ६३ सांसदको समर्थनसहितको दाबी पेस भएकाले एमाले–नेकपा–राप्रपा गठबन्धनले बागमतीमा स्पष्ट बहुमतसहित नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ । थापालाई आजै मुख्यमन्त्रीमा नियुक्ती गर्ने तयारी प्रदेश प्रमुखले गरेका छन् ।