१३ भदौ २०८३, शनिबार 1788010518
Banner

त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाको उद्धारको प्रयास जारी, ८२ सुरक्षाकर्मी परिचालन (तस्वीरहरुसहित)

काठमाडौं । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ ।

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

​प्रधानमन्त्रीको सचिवालयका अनुसार सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ ।

​यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।