काठमाडौं । चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासीलगायत जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि संघ र सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
संघले विपद्को यस संवेदनशील अवस्थामा पीडित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। साथै, प्रभावित क्षेत्रको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएको छ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

