१९ भदौ २०८३, शुक्रबार 1788562842
अर्थ

एभरेष्ट बैंक सहित कर्मचारीद्वारा ३ करोडभन्दा बढी सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले ३ करोड रुपैयाँभन्दा बढी आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, बैंकका कर्मचारीहरूले आफ्नो तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा सहयोग गरेका छन्। बैंक र कर्मचारीको संयुक्त सहयोग रकम कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा पुगेको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

नगद सहयोगसँगै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाइएको छ। संकलित सामग्री सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो। प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

बैंकले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को सामना गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।