४ मंसिर २०८१, मंगलबार 1732026188
समाचार

सञ्चारमन्त्री कार्कीद्वारा मक्का मदिनामा हज गर्न जाने हजयात्रीलाई बिदाइ

काठमान्डौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गर्नुभएकोे हो । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्कनुभएको हो । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । 

बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । मङ्गलबारदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।