२३ भदौ २०८३, मंगलबार 1788892203
समाचार

अमेरिकाले मेगनलाई कार्यवाहक राजदूत बनाएर नेपाल पठायो

काठमाडौं । अमेरिकाले नेपालस्थित आफ्नो दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी मेगन बोल्डिनलाई दिएको छ । जिम्मेवारी सम्हाल्न उनी काठमाडौं आइपुगेकी छन् ।

अमेरिकी दूतावासका अनुसार बोल्डिनले आगामी केही महिना नेपालमा कार्यवाहक राजदूतका रूपमा काम गर्नेछिन् । नेपालमा हालै आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई आवश्यक सहयोग पुर्‍याउनुका साथै विपद्पछिको प्रतिकार्य र पुनर्लाभका काममा पनि उनको प्राथमिकता रहनेछ ।

यस क्रममा उनले नेपालस्थित अमेरिकी नियोगका उपप्रमुख स्कट अर्बमसँग समन्वय गरी दूतावासका तर्फबाट आवश्यक गतिविधि अघि बढाउने दूतावासले जनाएको छ ।

बोल्डिन यसअघि बंगलादेशको ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । उनले सन् २०२४ को अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । त्यहाँबाट उनलाई नेपालका लागि कार्यवाहक राजदूतको जिम्मेवारी दिइएको हो ।

वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग अन्तर्राष्ट्रिय कूटनीति, संकट व्यवस्थापन तथा नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ ।

उनले युक्रेन, इराक र बंगलादेशमा काम गरिसकेकी छन् । त्यस्तै, अमेरिकी विदेश मन्त्रालयअन्तर्गत वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत उनले जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

नेपालमा कार्यवाहक राजदूतका रूपमा उनको कार्यकालमा विशेषगरी विपद् प्रतिकार्य, अमेरिकी नागरिकको सुरक्षा तथा दूतावासका नियमित कूटनीतिक गतिविधिलाई निरन्तरता दिने जिम्मेवारी रहनेछ ।