३० भदौ २०८३, मंगलबार 1789468064
समाचार

काठमाडौंका विभिन्न स्थानबाट अवैध भेपसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको चुच्चेपाटी र महाबौद्धबाट ठूलो परिमाणको विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’को गोदामबाट २ हजार ६७० थान र महाबौद्धस्थित ‘आरएचएस इन्टरनेशनल प्रालि’बाट १०० थान गरी कुल २ हजार ७७० थान प्रतिबन्धित भेप बरामद गरेको छ ।

अवैध रूपमा भेप भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा धादिङका पूर्णलाल श्रेष्ठ, चन्द्रागिरिका शुभम गुप्ता, रामेछापका राजन मोक्तान र काभ्रेका सक्षम श्रेष्ठ पक्राउ परेका हुन् ।

बरामद भेप र पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।