काठमाडौँ : मौसमविद्हरूले यही असोज ८ देखि १२ गतेसम्म ५ दिन भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेका छन् । पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी भारी वर्षा हुने प्रक्षेपण गर्दै मौसमविद्हरुले सचेत रहन भनेका छन् । बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउने सक्ने उनीहरुले बताएका छन् ।
बंगालको खाडी र अण्डमान आसपास विकास भइरहेको प्रणाली क्रमशः उत्तर–पश्चिमतर्फ सर्दै जाँदा त्यसको प्रभाव नेपालमा पर्न सक्ने देखिएको उनीहरुले जनाएका छन् । यद्यपि, अहिले प्रणाली विकासकै क्रममा रहेकाले यसको प्रभाव कति र कुन क्षेत्रमा बढी पर्छ भन्ने एकीन नभएको र यसबारे निरन्तर अनुगमन भइरहेको मौसमविद्हरुले जनाएका छन् ।
बंगालको खाडीमा विकास हुने प्रणाली चक्रवातका रूपमा विकसित हुन सक्ने अनुमान छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट मौसदविद्हरुले ५ दिन भारी वर्षाको अनुमान गर्दै सचेत गराएका हुन् ।
आउँदो बिहीबारदेखि भारी वर्षा हुने भएपछि सचेत रहन रास्वपा सांसद मनिष झाले पनि आग्रह गरेका छन् ।
‘नेपालमा वर्षा जारी रहे पनि यस बर्ष हालसम्म ठूलो क्षति भएको छैन । तर असोज ८ देखि १२ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएको छ । तसर्थ समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ । यो सूचना किसानसम्म पुर्याऔँ, ताकि अन्नबाली जोगाउन सकेसम्म तयारी गर्न सकियोस्। सबै सतर्क रहौ, सुरक्षित रहौँ,’ उनले फेसबुकमा लेखेका छन् ।
यसबारे मौसम तथा जलविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्ने तयारी गरेको जनाएको छ ।

