असोज ३० गते । प्रधानमन्त्री बालेन्द्र शाहले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने र नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा व्यक्त शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई प्रविधियुक्त, दक्ष र विपद् व्यवस्थापनमा सक्षम बनाउँदै नागरिकको सुरक्षा तथा सेवा प्रवाह प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले साइबर तथा वित्तीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेट सञ्चालकलाई समेटेर एकीकृत संयन्त्र विकास गरिरहेको बताउनुभएको छ । अनलाइन ठगीका घटना नियन्त्रण गर्न र नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र (इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर) स्थापना गर्ने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
त्यसैगरी, हवाई सुरक्षा तथा सहयोगसम्बन्धी कार्यका लागि एएएसएसयू स्थापना गर्ने तयारी गरिएको जनाउँदै उहाँले प्रहरीको कार्यक्षमता विस्तारमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना अघि बढाएको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ । यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विपद् व्यवस्थापनमा प्रहरीको भूमिका थप प्रभावकारी बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र आवश्यक पूर्वाधार विकासमा जोड दिइने उहाँको सन्देशमा उल्लेख छ । पछिल्लो समय बाढी तथा अन्य विपद्का घटनामा प्रहरीले निर्वाह गरेको उद्धार र मानवीय सहायताको भूमिकाको प्रशंसा गर्दै उहाँले संकटका बेला राष्ट्रसेवकको क्षमता, समर्पण र प्रतिबद्धताको वास्तविक परीक्षा हुने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले राष्ट्रको सेवा गर्ने क्रममा हालैका बाढी तथा अन्य विपदमा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सेवाका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले प्रहरी संगठनको स्थापना कालदेखि यसको विकास र सुदृढीकरणमा योगदान पुर्याउने पूर्व तथा वर्तमान प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘विपदमा सारथी, संकटमा सहारा, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसका अवसरमा ‘पुलिस मिरर–२०८३’ समेत विमोचन गरिएको छ । उक्त प्रकाशनले नेपाल प्रहरीको इतिहास, वर्तमान अवस्था र भावी पुस्ताबीच सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउने विश्वास प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ ।
विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग पुर्याउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति धन्यवाद व्यक्त गर्दै उहाँले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नेपाल प्रहरीलाई अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

