३ कार्तिक २०८३, मंगलबार 12:19 pm
फिचर

पर्यटकको रोजाइ बन्दैछ गुल्मीको होमस्टे

कात्तिक ३ गते। गुल्मीको विभिन्न स्थानमा सञ्चालित होमस्टे पर्यटकको रोजाइ बन्दैगएको छ। यस जिल्लाको विभिन्न छ स्थानमा स्थानीय समुदाय मिलेर सञ्चालन गरेका होमस्टेहरु पर्यटक भित्र्याउन निकै व्यस्त देखिन्छ। 

विशेषगरी शीतल मौसम, स्थानीय खानाका परिकारसाथै विभिन्न कला संस्कृतिका कारण ग्रामीण भेगमा सञ्चालित होमस्टेले छुट्टै पहिचान बनाउँदैगएका छन्।

यस जिल्लाको भार्सेमा रानीवन, ठुलोलुम्पेक, भुर्तुङमा धुवाँखोला, टिमुरेमा रेमी, स्वाँरा र रेसुंगा होमस्टे सञ्चालित छन्। विगत आठ वर्षदेखि सत्यवती गाउँपालिका –८ भार्सेमा रानीवन सामुदायिक होमस्टे पाहुना घर सञ्चालित छ। 

यहाँ महिला १४ र पुरुष ३ जना आबद्ध छन्। हालसम्म २० लाख रुपियाँ लगानी गरिएको छ। हाल ५० जना होमस्टेमा राख्न सकिने क्षमता रहेको छ। अर्गानिक स्थानीय खानासहित सुविधायुक्त आवास, मनोरञ्जन र पर्यटकीय स्थलमा घुम्न सकिन्छ।

रुद्रवेणी–वामी सडकखण्डबाट १७ किलोमिटर कच्ची सडक उकालो लागेपछि होमस्टे पुगिन्छ। होमस्टे पुगेपछि झुलेथुम कालिका मन्दिर, शिवालय गुफा, अर्कुल दरबार, गोर्खा ग्यालरी, देउराली बौद्ध स्तुपा, थाप्ले ट्रेकिङ, चिडिगा लेक ट्रेकिङ, तामाखानी, झुलेनी ग्रीस्मकालीन दरबार र ब्यारेक लगायतमा घुम्न सकिने स्थानीय अगुवा नरु बुढाथोकीले जानकारी दिनुभयो। 

होमस्टेमा हिउँदमा दैनिक ४० देखि ५० जना र बर्खामा पनि हुनेगरी वार्षिक आठ हजारभन्दा बढी पाहुना होमस्टे आएका छन्। जसबाट १० लाख रुपियाँ आम्दानी भएको होमस्टेका अध्यक्ष गंगा दर्लामीले बताउनुभयो।

होमस्टेमा साँस्कृतिक प्रस्तुति अन्तर्गत स्थानीय ठाडो भाका, चुड्का, सालैजो, सोरठी, कृष्ण चरित्र र पञ्चेबाजा लगायत प्रस्तुत हुन्छन्।

सामुदायिक भवनसहित बसाइँका लागि गुणस्तरीय व्यवस्थापन रहेको छ। त्यसैगरी यस जिल्लाको कालीगण्डकी गाउँपालिका –७ भर्तुङमा धुवाँखोला सामुदायिक होमस्टे, सत्यवती गाउँपालिका –३ मा ठुलोलुम्पेक सामुदायिक होमस्टे, चन्द्रकोट गाउँपालिका –४ टिमुरेमा टिमुरे सामुदायिक होमस्टे, मुसिकोट नगरपालिका –६ स्वारामा स्वाँरा गुरुङ सामुदायिक होमस्टे, तम्घास नजिकै रेसुङ्गा नगरपालिका –१३ भंगारीमा रेसुङ्गा होमस्टे सञ्चालित छ।