५ कार्तिक २०८३, बिहिबार 10:05 pm
फिचर

दसैंमा सुनसान बन्यो पाथीभरा

कात्तिक ५ गते । विगतका वर्षमा नवरात्र सुरु भएसँगै दर्शनार्थीको घुइँचो लाग्ने ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर यस वर्षको दसैंमा सुनसानजस्तै बनेको छ । दसैं–तिहारको बिदामा पारिवारिक भ्रमण तथा मन्दिर दर्शनका लागि आउने भक्तजनको सङ्ख्या घटेपछि पाथीभरा क्षेत्रका होटल तथा यातायात व्यवसायी प्रभावित भएका छन् ।

विगतका वर्षमा दसैंको मुख्य सिजनमा दैनिक १० हजारसम्म तीर्थयात्री पुग्ने पाथीभरामा यस वर्ष भने दर्शनार्थीको सङ्ख्या निकै न्यून देखिएको छ। तीर्थयात्रीको चाप हुने समयमा काफ्लेपाटी क्षेत्रका होटल भरिभराउ हुने र मेची राजमार्ग तथा तमोर करिडोर आसपासका बजारमा समेत चहलपहल बढ्ने गरेको थियो । तर, यस वर्ष अपेक्षाकृत रूपमा तीर्थयात्री नआउँदा व्यवसायमा प्रत्यक्ष असर परेको स्थानीय व्यवसायीले बताएका छन् ।

काफ्लेपाटी क्षेत्रकी होटल व्यवसायी मनिका भट्टराईका अनुसार विगतका वर्षमा दसैंको समयमा होटलमा कोठा पाउनसमेत कठिन हुने गरेकामा यस वर्ष पाहुनाको सङ्ख्या निकै कम छ । तीर्थयात्रीको आगमन घट्दा होटल व्यवसायसँगै यातायात लगायत पर्यटनमा आधारित अन्य व्यवसाय प्रभावित भएका छन् ।

दर्शनार्थीको सङ्ख्या घट्नुको असर पाथीभरा क्षेत्रमा बालबालिका, अशक्त तथा वृद्धवृद्धालाई मन्दिरसम्म पुर्‍याउन सहयोग गर्ने भरियाहरूमा परेको छ । भरिया तुलसी गुरुङका अनुसार तीर्थयात्रीको चाप कम हुँदा भरियाको कामसमेत प्रभावित भएको छ । पाथीभरा क्षेत्रमा यसरी सेवा प्रदान गर्ने करिब ४०० भरियाको आम्दानीमा असर परेको छ।

धार्मिक मान्यताअनुसार शुक्र अस्त भएको समयमा विवाह, व्रतबन्ध, गृहप्रवेश तथा ठूला धार्मिक अनुष्ठान र तीर्थयात्रा नगर्ने परम्पराको प्रभावसमेत दर्शनार्थीको आगमनमा परेको हुन सक्ने स्थानीयको भनाइ छ। दर्शनार्थीको सङ्ख्या घटे पनि पाथीभरा क्षेत्रमा पर्यटकीय गतिविधि भने पूर्ण रूपमा ठप्प भएको छैन । 

समुद्री सतहबाट करिब तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित मकालु र आसपासका अन्य हिमशृङ्खला तथा प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो समय मन्दिर दर्शनभन्दा प्राकृतिक सौन्दर्यको अवलोकन र पदयात्राका लागि आउने पर्यटक देखिन थालेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीले धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित पाथीभरा प्राकृतिक सौन्दर्यका कारण पनि पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार दर्शनार्थीको आगमन न्यून भए पनि पर्यटकीय आकर्षण भने कायम छ ।

दसैंको समयमा अपेक्षित चहलपहल नहुँदा प्रभावित बनेका व्यवसायी तथा भरियाहरू दसैंपछिका दिनमा तीर्थयात्री र पर्यटकको आगमन बढ्ने तथा पाथीभरा क्षेत्रमा पुनः चहलपहल फर्किने आशामा छन् ।