काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्री साहको सचिवालयका अनुसार भेटका क्रममा दुई देशबीचको व्यापारिक सहकार्य र आर्थिक सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान भएको थियो ।
भेटमा दुवै देशबीच आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।


