२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:33 pm
समाचार

मोदीले फोन ट्याप गराइरहेको राहुल गान्धीको दाबी, फेरि दिए आमनेसामने ‘लाइभ डिबेट’को चुनौती

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, १८:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतीय कंग्रेसका नेता तथा लोक सभामा विपक्षी दलका सांसद राहुल गान्धीले फेरि एकपटक प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएका छन् ।

गान्धीले मोदीले आफ्नो फोन ट्याप (आफूले फोनमा अरुसँग गर्ने गरेको कुराकानी सुन्ने गरेको) गर्दै आएको दाबी गरेका हुन् ।

एक कार्यक्रमका क्रममा गान्धीले आफ्नो मोबाइल फोन देखाउँदै भने– विदेशी लगानीको प्रमाण यहाँ छ । प्रधानमन्त्रीलाई थाहा छ कि उहाँले मेरो फोन ट्याप गराइरहनुभएको छ ।

गान्धीले आफूसँग सबै प्रमाण रहेको र यो आफ्नो फोनमा सुरक्षित रहेको समेत दाबी गरे ।

यस्तै, गान्धीले मोदीलाई फेरि पनि आमनेसामने ‘लाइभ डिबेट’ (बहस)का लागि चुनौती दिए ।

गान्धीका अनुसार यस्तो बहसले को विदेशी शक्तिहरूको इशारामा काम गरिरहेको छ र को राष्ट्रविरुद्धका गतिविधिमा संलग्न छ भन्ने कुरा छर्लङ्ग पार्नेछ ।

गान्धीका अनुसार उनी कृषि कानुनहरू, भोट चोरी, मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर), एपस्टाइन प्रकरण, संसदमा कुरा राख्न नपाएको लगायतका विषयहरूमा सार्वजनिक मञ्चमा मोदीसँग आमनेसामने बहस गर्न चाहन्छन् ।

गान्धीले संसदमा आफ्ना कुरा राख्ने मौका नदिइएको पनि दाबी गरे । उनका अनुसार संसदमा प्रायः उनको माइक्रोफोन बन्द गरिदिने गरिन्छ, जसले गर्दा उनले महत्त्वपूर्ण विषयहरूमा बोल्न पाउँदैनन् ।

पछिल्ला १२ दिनमा राहुलले प्रधानमन्त्री मोदीलाई ‘लाइभ डिबेट’का लागि आह्वान गरेको यो सातौं पटक हो ।