२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:47 pm
Banner

चौबिसै घण्टा काठमाडौँ खुला गर्छौं : प्रजिअ पौडेल

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, २०:४७ बजे २ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताएका छन्।

बुधबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले पेस गरेको मागपत्र बुझ्दै प्रजिअ पौडेलले काठमाडौँ चौबिसै घण्टा खुला गर्ने तयारी भइरहेको बताएका हुन्। ‘आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि जिल्लाका सबै पर्यटन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने वातावरण बनाउँदै छौँ,’ प्रजिअ पौडेलले भने। गृहमन्त्री सुधन गुरुङसमेत काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने विषयमा सकारात्मक रहेकाले आवश्यक तयारी पूरा गर्न प्रशासन केन्द्रित रहेको उनको भनाइ छ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँका पदाधिकारी होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। संघले यसअघि गरेको पहलपछि राति १० बजेसम्म सञ्चालन हुँदै आएका होटललाई ११ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको थियो। संघका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लामो दूरीका यातायातका साधन चौबिसै घण्टा सञ्चालनमा रहे पनि राति ११ बजेपछि होटल बन्द हुँदा काठमाडौँ आइपुग्ने पर्यटकले आवास तथा खानपानको सेवा पाउन कठिन भइरहेको छ। विशेषगरी भारतका विभिन्न सहरबाट आफ्नै सवारीसाधनमा लामो दूरी पार गरेर आउने पर्यटक रातिको समयमा काठमाडौँ आइपुग्ने गरेका छन्। तर, होटल तथा बजार बन्द हुँदा उनीहरूले आवश्यक सेवा पाउन नसकेको संघको भनाइ छ।

विदेशी पर्यटक काठमाडौँको मौलिक कला, संस्कृति, परम्परा र स्थानीय जीवनशैलीको अनुभव लिन चाहने भए पनि रातिको समयमा बजार तथा पर्यटनसम्बद्ध गतिविधि बन्द हुँदा उनीहरूको बसाइ र पर्यटन अनुभव प्रभावित हुने संघले जनाएको छ। काठमाडौँलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटल, रेस्टुरेन्ट तथा पर्यटनसम्बद्ध व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्ने संघका अध्यक्ष सुरेश बरालले बताएका छन्।