काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतको दुई दिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।
प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन्। त्यस दिन साँझ ६ बजे उनले होटेल ताजमहलमा भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ। त्यसपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन्। राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ।
सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्। त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ।


