१० मंसिर २०८१, सोमबार 1732550387
Banner

जनताको बहुदलीय जनवाद : सबै वामको साझा छाता

एमालेबाहेक नेपालका वामपन्थी शक्तिहरू आगामी दिनमा अँगाल्नु पर्ने नीतिमा कुइरोको कागझैं रणभुल्लमा छन् । अरूभन्दा आफूलाई फरक देखाउन, अरूभन्दा आफूलाई क्रान्तिकारी देखाउन उनीहरूले यसो गर्दै आएका छन् । नेकपा (एमाले) ले मात्र देशको धरातलीय यथार्थलाई आत्मसात गरी, विभिन्न अन्तर्राष्ट्रिय अनुभवको विश्लेषण गरी नेपालको लागि उपयुक्त विचार जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । यदि राजनीतिक, आर्थिक र सामाजिक – सांस्कृतिक परिवर्तन सम्भव हुँदासम्म शान्तिपूर्ण जनपरिचालनमार्फत् अघि बढ्ने र प्रतिक्रियावादी शक्तिले ह्रिंसक रूपमा जनताको परिवर्तनको आन्दोलन दवाउन आएमा त्यसको प्रतिरोध सशस्त्र समेत हुनसक्ने जनताको बहुदलीय जनवादको आधारभूत कार्यनीति हो ।

२००७ सालको परिवर्तन, ०४६ सालको परिवर्तन र २४० वर्ष शासनमा रहेको शाही राजतन्त्रको अन्त्य गर्ने ०६२/६३ सालको परिवर्तनमा शान्तिपूर्ण आन्दोलनको सबभन्दा महत्वपूर्ण भूमिका रहेबाट जननेता मदन भण्डारीको उल्लिखित विश्लेषण नेपालको धरातलीय यथार्थमा आधारित थियो र एकदम सही थियो भन्ने निष्कर्ष निस्किन्छ ।

नेकपाका संस्थापक कमरेड पुष्पलालले अघि सार्नुभएको शान्तिपूर्ण जनपरिचालनको मोटो अवधारणालाई जननेता मदन भण्डारीले सिद्धान्तको रूपमा विकास गर्नुभएको हो । जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले भन्नुभएझैं मुक्तिका लागि नेपाली जनताले गरेको लामो र कष्टसाध्य सङ्घर्षको परिणाम हो ।

जसरी समाजका हरेक पक्ष निरन्तर परिवर्तनशील छ, त्यसरी नै कुनै सिद्धान्त, विचार, कार्यनीति वा रणनीति पनि परिवर्तनशील छन् । जनताको बहुदलीय जनवादको प्रादुर्भाव यही पृष्ठभूमिमा भएको हो । अल्वर्ट आइन्स्टाइन भन्दथे परिवर्तन शब्दबाहेक अरू सबै चीज परिवर्तनशील छन् । मदन भण्डारीले भन्नु भएझैं मानिस सिद्धान्त लागि नभै सिद्धान्त मानिसको लागि भएकोले सिद्धान्तसमेत परिवर्तनशील छ र हुनुपर्छ ।

अर्कातिर निर्मल लामा र मोहनविक्रमको स्कुलिङ्बाट आएका नेपालका वामसमूह गतिशील समाजको यो पक्षलाई मान्न तयार छैनन् । १९औं शताब्दीको युरोपीय समाजको आधारमा मार्क्सले बोलेका विषय, आजभन्दा सय वर्ष पहिले रसियन समाजलाई आधार बनाएर लेनिनद्वारा अभिव्यक्त विचार र सात दशक अगाडिको चिनियाँ परिवेशलाई आधार बनाएर माओले सूत्रीकरण गरेको सिद्धान्तलाई हलचल गर्न नसकिने गरी गाडिएको किलोजस्तो ठान्ने प्रवृत्ति ती वाम समूहमा देखिन्छ । मूलत : उनीहरू उग्र वाम भड्कावमा रहने र उग्र वामपन्थको दाम्लो चुँडाएर दक्षिणपन्थी किलोमा पटक(पटक पुग्ने गरेका छन् । अहिले शेरबहादुर देउबाको दक्षिणपन्थी क्याम्पमा प्रचण्ड र मोहनविक्रम पुग्ने विषयले यसको पुष्टि गरेको छ । कहिले सशस्त्र विद्रोहबाहेक केही नदेख्ने कहिले दक्षिणपन्थी प्रतिक्रियावादीसंग मिलेर एमालेजस्तो क्रान्तिकारी संसदवादी पार्टीसंग पौठेजोरी खेल्ने उत्ताउलो चरित्र देखाउँदै छन् । नेपाली काङ्ग्रेसको मतको वैशाकीमा केही सीट जितेर आफ्नो राजनीतिको रोटी सेक्ने निरर्थक प्रयास गरिरहेका छन् । देशको सामाजिक(आर्थिक रुपान्तरण भाँडमा जावोस् प्रचण्डलाई प्रधानमन्त्री पद चाहिएको छ । आगामी निर्वाचन पछि पनि सो पद काङ्ग्रेसले नदिने पक्का भएबाट उनी खास बार्गेनिङ्सहित एमालेसंग हात बढाउने चाँजो मिलाउन चाहन्छन् अब । विगतमा एमाले अध्यक्ष तथा लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओलीसंग अकारण दुश्मनी गरेर नेकपाबाट अलग्गिएका प्रचण्डलाई अहिले ओलीसंग कुरा गर्ने आँट जोहो भएको अवस्था छैन ।

माओ भन्दथे खुट्टाको आधारमा जुत्ता काट्ने हो, जुत्ताको आधारमा खुट्टा काट्ने होइन । विडम्वना, नेपालका केही वामपन्थीहरू जुत्ताको आधारमा खुट्टा काटिरहेछन् । देश र जनताको निम्ति विचार, सिद्धान्त र पार्टी वा गठबन्धन बन्नु पर्नेमा आफू, आफ्नो पद, आफ्नो परिवारको खातिर यसो भइरहेको छ । रेणु दाहाल जित्न प्रचण्डलाई नेपाली काङ्ग्रेससंगको गठबन्धन चाहिएको थियो,अब आफू जित्न र प्रधानमन्त्री बन्न वाम गठबन्धन आवश्यक ठानिएको हुनसक्छ ।

जेसुकै अन्तरनिहित उदेश्य राखेर वामएकताको विषय उठान गरिएको र त्यसको लागि पहल गरिएको छ, त्यसलाई नकारात्मक भन्न हुदैन । वामपन्थी शक्तिलाई छिन्नभिन्न पारेर सम्पूर्ण सत्ता कब्जा गर्ने दिशामा अगाडि बढेको नेपाली काङ्ग्रेसको उदेश्यमा चिसो पानी खन्याउन विगतमाझैं वाम गठबन्धन सही विकल्प हुन सक्छ ।

विगतका वाम गठबन्धन, कम्युनिष्ट एकता र विभाजनका अनुभवलाई नियाल्दा यसो भन्न सकिन्छ, विचारको जगमा नभएको एकता क्षणभङ्गुर हुने रहेछ । सत्ता स्वार्थको लागि गरिने विजातीय गठबन्धन त पानीको फोकासरह मात्र हुन् ।

अहिले फेरि कम्युनिष्ट एकताको दृश्य,अदृश्य पहल भइरहेका छन् । अरू त झरू वाम राजनीतिमा अत्यन्त पन्यालो बनेका वामदेव गौतम ‘एकता अभियान’ मा सक्रिय छन् ! वाम खेमा छोडेका डा. बाबुराम भट्टराई पुनः वाम खेमामै फर्कने कसरत भइरहेको छ ।

अघिल्लो आम निर्वाचन अगाडि बनेको वाम गठबन्धन, निर्वाचन लगत्तै भएको एमाले(माओवादी एकता र एकता पूरा नहुँदै भएको विभाजनले गम्भिर पाठ सिकाएको छ । त्यो हो, विचारलाई एकताको मुख्य आधार नबनाइ गरिएको एकता टिकाउ हुन सक्दैन । नेताहरूको गाला जोडेर गरिने एकता त तासको घरजस्तो मात्र हुने रहेछ ।

र, जबजबाहेक वाम एकता वा कम्युनिष्ट एकताको लागि अर्को कुनै विचार अहिले नेपालमा छैन ।