संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ ।
श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।
जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गर्नुभएको छ ।
उहाँले बालीबाट ट्वीट गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ । जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा यूक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हाँसिल गरेको छ । हामीलाई अहिले शान्ति र ऐक्यवद्धताको आवश्यकता छ । नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ ।”
अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ ।
चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो ।
यसअघि हिजो बुधवार उहाँले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट व्यापक जनादेश’ पाएको र त्यो जारी रहने’ बताउनुभएको थियो ।
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा पर्नुभएको थियो । यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो ।
यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए ।
यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उहाँ पदबाट हट्नुपर्ने बताउनुभएको थियो ।