काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो।
‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो,भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
भानु जयन्तीमा गण्डकी प्रदेश सरकारले दियो सार्वजनिक बिदा
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो । प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ । विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ् । मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ, भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो ।