२८ जेष्ठ २०८३, बिहिबार 1781170239
Banner

पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १० बजेर ५० मिनेटमा माण्डु हाइड्रोपावरबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानका अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ का २१ वर्षीय इञ्जिनियर सूर्य यादवको उपचारका क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार तथा यादव काठमाडौँ–तराई द्रुतमार्ग आयोजनामा कार्यरत इञ्जिनियर रहेका थिए ।

दुर्घटनापछि नेपाल प्रहरी र नेपाली सेना, काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट खटिएको संयुक्त टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो । हाल मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रहरीले सवारी चालकलाई तीव्र गति नियन्त्रण गर्न, सडक तथा मौसमको अवस्थाप्रति सजग रहन, सवारी साधनको नियमित परीक्षण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।