महोत्तरी जिल्लासहित मिथिलाञ्चलभरि अहिले मधुश्रावनीको रौनक बढेको छ । मिथिलाञ्चल क्षेत्रका ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता छोरीहरु सोह्र शृङ्गार गरी हातहातमा डाला लिएर समूहमा गीत गाउँदै फूल टिप्न जाँदै गरेको दृश्यले अहिले मिथिलाञ्चललाई रङ्गीचङ्गी र मनोरम बनाएको छ । यो रौनक साउन शुक्ल पञ्चमी तिथि लागेसँगै मिथिलाञ्चलमा ‘मधुश्रावनी’ पर्व सुरु भएपछि बढेको हो ।
साउन शुक्ल पञ्चमी तिथिदेखि मिथिलाञ्चलमासुरु भएको मधुश्रावनी पर्व आउँदो १५ दिनसम्म चल्नेछ । यस पर्वमा नवविवाहिताहरु प्रत्येक दिन साँझ नजिकको फूलबारी, मठ, मन्दिर, चौतारा र सार्वजनिक पाटी पौवाहरु भएको ठाउँमा दौँतरीहरुका साथ गीत गाउँदै, हाँसो ठट्टा गर्दै गएर फूल टिपेर ल्याउने गर्दछन् भने सोही फूलबाट प्रत्येक दिन बिहान भगवान् शिव, पार्वती र नागदेवताको पूजा गर्दछन् । ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता छोरीहरु आफ्ना पतिको दीर्घायु एवं सुख, शान्तिको कामना गर्दै १५ दिनसम्म निकै महत्वका साथ यो पर्व मनाउने गर्दछन् । यस पर्वको पहिलो दिन अर्थात् साउन शुक्ल पञ्चमीको पहिलो दिन मैना पञ्चमीका रूपमा र १५औँ दिन अर्थात् कृष्ण पञ्चमी अन्तिम दिनलाई मधुश्रावनी भन्ने परम्परा रहेको छ ।
मधुश्रावनीको अन्तिम दिन भगवान् शिव, पार्वती र नागदेवताको पूजा गरेपछि बेहुलाले नवविवाहिता बेहुलीको तिघ्रामा कपासको बत्तीमा आगो बालेर पोलेर पर्वको अन्त्य गर्ने परम्परा रहेको छ । जसलाई टेमी भन्ने गरिन्छ । बेहुलाले पोलेपछि बेहुलीको पोलेको ठाउँमा फोका आएमा उनीहरुको दाम्पत्य जीवन सफल र सुखी हुने जनविश्वास रहिआएको छ भने फोका नभएमा नराम्रो जीवन रहने जनबुझाइ रहिआएको छ ।