(हुनान प्रान्तको माओको पुख्र्यौली घर । माओ सोचमग्न अवस्थामा देखिन्छन् । घरै अगाडिको माछा पोखरीभन्दा केही पर उनलाई भेट्न आउनेहरुको ठूलो भीडलाई लालसेनाले रोकिराखेकोले म सरासर उनीसम्म पुग्न सकेको थिइन । भीडमा फरक नश्लको मानिस देखेर होला मलाई छोडिदिन उनले लालसेनालाई आदेश दिए । भेट्नासाथ मैले मुठ्ठी उठाएर लालसलाम गरें र गर्विलो हस्तमिलन पनि । ढिलो नगरी नेपालको बारेमा अन्तरवार्ता शुरु भयो ।)
प्रश्न : नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रमसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
माओ : कमी कमजोरी त नभएका होइनन् तर असन्तुष्ट हुनुपर्ने कारण त खास छैन । म सम्झन्छु–नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोवर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउदै बलियो कम्युनिष्ट पार्टीमार्फत् जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । म सम्झन्छु–केही समय पनि नबित्तै विभाजित भएको नेपालको कम्युनिष्ट पार्टीले मेरो नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट सत्तरीको दशकमा फेरि बौरियो । मेरो फोटो अंकित राता किताब बोकेर नेपाली कम्युनिष्टहरुले देशभरि संगठन निर्माण गर्न थाले । कसैले मेरो वा नोलौ जनवादी क्रान्तिको आलोचना गर्यो भने ऊ दक्षिणपन्थी संशोधनवादी कहलिन्थ्यो । झापाली विद्रोही समूहले त कति समयसम्म मलाई अध्यक्ष माओ भनेर सम्बोधन गरिरह्यो । त्यो समूह नेकपा (माले) हुदै नेकपा (एमाले)ले करीब दुई दशक पछि मलाई सही थान्कामा राख्यो । त्यसपछि एमालेजनहरु माओ, नौलो जनवादभन्दा बढी आफ्नो देश र क्रान्तिबारे बढी चिन्तन मनन गर्न थाले । कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि यो क्रार्यक्रम नेपालमा निकै लोकपृय बन्यो । यो कार्यक्रम लोकपृय हुनुमा यसको सार र रुपको राम्रो संयोजन हुन सक्नु पनि प्रमुख कारण थियो । यो कार्यक्रमका नविन विेशेषता त थिए नै, यसको रुपको संयोजन पनि उत्कृष्ट थियो । “जनता” शब्दले वर्गीयता समेटेको थियो भने “बहुदलीय” शब्दले नेपाली समाजको बहुलवादी चरित्रलाई मात्र ईङ्गित गरेको थिएन, नेपाली कम्युनिष्टहरु एकदलीय तानाशाही तरिकाले शासन सत्ता सञ्चालन गर्ने छैनन् भन्ने इमान्दार घोणणा थियो । “जनवाद” शब्दले समाजको समग्र लोकतान्त्रिकरणको मर्मलाई बोकेको प्रष्टै बुझ्न सकिन्छ । त्यसकारण यो नेपालको मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै नौलो अभ्यास थियो ।
म सम्झन्छु–तेश्रो सहश्राब्दीको शुरु हुनै लाग्दा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को धारले कमरेड प्रचण्डको नेतृत्वमा माक्र्सवाद–लेलीनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएर मेरो नेतृत्वमा चीनमा सञ्चालन भएझैं दीर्घकालीन जनयुद्ध मार्फत् सत्ता कब्जा गर्ने र नेपालमा नौलो जनवाद लागू गर्ने बाटो तय गर्यो । नेपालमा दश वर्षसम्म सञ्चालित सशस्त्र विद्रोहले नेपालको सामन्तवादको जरामात्र हल्लाएन, सन २००६ मा एतिहासिक जनआन्दोलनको सफलतामा यसको प्रमुख भूमिका रह्यो । तर जब कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्ने अवसर आयो, जबजकै विशेषताको अवलम्बन गर्नुपर्यो । सायद यही कारण हो, कुनैबेला सैद्धान्तिक रुपले विल्कुल भिन्न र कतिपय अवस्थामा शत्रुवत् सम्बन्धमा रहेका तत्कालीन एमाले र माओवादी पार्टीविच केही समयको लागि भए पनि एकता संभव भएको हो ।
प्रश्न : चिनिया पूँजीवादी –जनवादी (नयाँ जनवादी) क्रान्ति र नेपाली पूँजीवादी–जनवादी क्रान्तिविच कुनै समानता देख्नुहुन्छ ?
माओ : (मुसुक्क हाँसेर) तपाईंले यो निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । चिनिया क्रान्ति र नेपाली क्रान्ति विल्कुल भिन्न समय, विश्व परिवेशमा भएका क्रान्ति हुन् । सामन्तवादको उच्छेद गर्ने र जनताको सत्ता कायम गर्ने विषयमा केही समानता रहे पनि सत्ता प्राप्ति र सञ्चालन दुवैमा धेरै भिन्नता छन् । यसमा चिनिया समाज र नेपाली समाजमा रहेका सांस्कृतिक र चेतनाजन्य भिन्नतालाई नजरअन्दाज गर्न मिल्दैन । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी जनताबाट निवाचित भएर सत्तामा पुग्नु, सत्ता कब्जा गर्ने ध्येयका साथ जनयुद्ध सञ्चालन गर्ने कमरेड प्रचण्ड पनि संसदीय निर्वाचनबाट मात्र सत्तामा पुग्न सक्नु नेपाली कम्युनिष्ट आन्दोलनका अनुपम विशेषता हुन् । राजनीति, नेता र सत्ताबारे नेपाली जनताको र चिनिया जनताको बुझाई पनि आनका तान फरक छ । तपाईले नेहरु लिखित ईतिहास पढ्नु भएकै होला । चीनको बारे उनले गरेको टिप्पणी यहाँ स्मरणीय छ , उनी भन्थे–चीनमा धेरै शासकले ५०० बर्ष शासन गरेका थिए । वर्तमान कम्युनिष्ट सत्ता पनि चीनमा ५०० बर्ष टिक्न सक्छ । ( हाँसेर) तर नेपाली जनतालाई चाँडो चाँडो सत्ता वा सरकार फेर्ने बानी नै परिसक्यो । दुईतिहाई जनमत पाएको वि पी सरकार दुई बर्ष पनि टिकेन । के पी सरकारलाई आफ्नै कमरेडले दक्षिणपन्थी शक्तिसंग मिलेर पूरा अवधि चल्न दिएनन् ! पार्टीभित्र र बाहिरका राजनीतिक खेल डरलाग्दा देखिए। सबभन्दा बढी समस्या त मेरै अनुयायी कमरेड प्रचण्डमा देखियो । उनको सन्दिग्ध चरित्रले गर्दा आज नेपालमा त्यति धेरै कम्युनिष्ट भएर पनि घोर दक्षिणपन्थी देउवाको शासन चलिरहेको छ । यो नेपालका कम्युनिष्टहरूको दुर्भाग्य हो ।
प्रश्न : कमरेड तपाईको विचारमा नेपालले समाजवादी राज्य व्यवस्थामा पुग्न अब के–के गर्नु पर्छ ?
माओ : समाजवादमा पुग्न प्रशस्त राष्टिय उत्पादन र स्थीर सरकार चाहिएला, देशमा विद्यमान गरिबी,बेरोजगारीको अन्त्य हुनुपर्ला, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण हुनु पर्यो, के पी ओलीजस्तो भिजन भएको कम्युनिष्ट नेताले कम्तिमा एक पूरा कार्यकाल शासन गर्न पाउनु पर्यो, यही हो ।
प्रश्न : अहिले एमाले एकापट्टी र केही वाम पार्टीसहितको गठबन्धन, जसको नेता नेपाली कांग्रेस छ, बीचमा आगामी निर्वाचन हुँदैछ । कस्तो परिणाम आउने संभावना देख्नु भएको छ ?
माओ : कम्युनिष्टको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्ता सुम्पने वामलाई पनि कसरी वाम भन्न सकिन्छ ? मेरो ओठे भक्ति गर्ने तर व्यवहारमा कम्युनिष्टविरोधी बन्ने नेपालका ‘कम्युनिष्ट’हरूसंग म निरास छु । साच्चै भन्नुहुन्छ भने प्रचण्डले मेरो मन भाँचिदिएका छन् । तर के पी ओलीको एमालेले जे जस्ता चुनौति सामना गरेर अगाडि बढिरहेको छ, त्यसबाट प्रशस्त सन्तुष्टि लिने ठाउँ छन् ।
(माओ बोल्दै थिए । बाहिर कुकुर भुकेको आवाजले पटक्कै उनको आवाज सुनिएन । आफू बसेको काठको कुर्सी कसैले पछाडिबाट तानेजस्तो लाग्यो । म लडें । आखिर यो त सपना पो रहेछ । एैंठन भएर आफू सुतेको खाटबाट लडेछु म । उठेर पसिना पुछ्दै एताउती हेरें । मेरो स्टडी टेवलमा मदन भण्डारीको सङ्कलित रचना, प्रचण्ड लिखित एक्काईसौं शताब्दीको जनवाद, माओ लिखित नौलो जनवादबारे लगायतका किताब छरपष्ट थिए । र,टेवलमाथि माओको तस्विर )