२६ जेष्ठ २०८३, मंगलबार 1781054069
Banner

न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गर्नुभएको थियो । नयाँ निर्देशिकाले न्यायालयलाई झन प्रभावित पार्ने चौतर्फी चिन्ता बढ्न थालेको र व्यक्तिगत स्वार्थ जोडिएकाले न्यायाधीश नियुक्तिको प्रक्रियामा अदालतका कर्मचारीहरु, सरकारी वकिलहरु, कानून अधिकृतहरु एवं कानून व्यवसायीहरुबीच असमान व्यवस्था भएको रिट निवेदनमा छ ।

नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकमा आघात पुगेको र धारा ३३ को रोजगारीको हकको भावना र धारा १८ को समानताको हक एवं धारा २० को न्यायको हकविपरीतको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका भएकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।