८ मंसिर २०८१, शनिबार 1732354019
Banner

जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गर्नुभएको छ ।

,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’ नेम्वाङले भन्नुभयो ।

संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरिकन छापामार शैलीमा ल्याइएकाले आशंका बढाएको उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन ।

तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आँकलन छ ।

सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बेखुस छन् ।

यी दुई दलले आगमी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका थिए । ‘स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्बत छैन भनेर प्रचण्ड र माधव नेपाल बोलिरहेका थिए । उनीहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहेका थिए,’ नेम्वाङले भन्नुभयो, ‘यही उद्देश्य पूरा गर्न महाभियोग ल्याइएको हामीलाई आशंका छ ।’