१७ असार २०८३, बुधबार 1782966202
Banner

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज बयान सक्ने तयारी

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज बयान सक्ने भएको छ। समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ। सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ।

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्।

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो।

समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ। चारवटा बैठकमा समितिले जबरासँग बयान लिइरहेको छ। बयानका क्रममा उनले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाएका छन्।