७ मंसिर २०८१, शुक्रबार 1732329174
कृषि

स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेपनि बजारमा उचित मूल्य पाउन सकेको छैन । यहाँको पातारासी गाउँपालिका–६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन भएको बताउनुभयो । बारीको स्याउले रु ५० भन्दा बढी प्रतिकिलो मूल्य पाउन नसकेको उहाँले बताउनुभयो ।

स्याउ गतवर्ष भन्दा यो वर्ष राम्रो फलेको छ । बजारमा मूल्य छैन बारीमा झण्डै तीन सय स्याउका बिरुवामा फल लागेको छ । करिब १० क्वीन्टल स्याउ त प्रतिकेजी रु २० मा बेचेको उहाँको भनाइ छ । जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ । यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ । किसान रतन रावतले भन्नुभयो, “वर्षेनी स्याउको बजार खोज्नुपर्छ । सरकारले स्याउ उत्पादन मात्र गर भन्छ । बजारीकरणमा सहयोग गर्दैन ।” जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ पछि मात्र स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो । किसानले साउनमै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको बजार खस्केको स्थानीय स्याउ व्यापारी बताउँछन् । स्याउमा लागेको रोग कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाको गहन अध्ययन हुनुपर्ने स्याउ किसान अर्जुन न्यौपानेको भनाइ छ ।

स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या भए पनि रोग कीरा नियन्त्रणको काम कृषि प्राविधिकको भएको स्थानीयवासी धनबहादुर थापाले जानकारी दिनुभयो । स्याउ सुपरजोनका बागवानी अधिकृत विवशकुमार रोकायाले स्याउमा लागेको रोग नियन्त्रणमा कार्यालय लागेकोे जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार दुई सय हेक्टरमा स्याउ खेती हुने गरेको छ । यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । स्याउबाट चालु आवमा झण्डै रु ५० करोड आम्दानी हुने कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जुम्ली स्याउको बजारीकरणका लागी स्याउ महोत्सव भएको थियो ।