काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको कुनै लक्ष्य, उद्धेश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गर्नुभएको हो ।
उहाँले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गर्नुभयो । महासचिव पोखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरूको आवश्यक्ता नरहेको बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरू भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरूको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताउनुभयो ।