२६ मंसिर २०८१, बुधबार 1733939358
Banner

स्थानीय तह निर्वाचनका लागि १० वटा दलले गरे आयोगमा दर्ता

काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि १० वटा दलले निर्वाचन आयोगमा दर्ता गरेका छन्।

आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो। आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन्। आइतबार मात्रै पाँच वटा दल दर्ता भएका हुन्।

राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो। निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन्।

आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ताका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा ५ देखि १५ फागुनसम्म दल दर्ताको निवेदन दिन आयोगले आह्वान गरे बमोजिम आयोगमा दर्ता भइसकेका दलहरुले निर्वाचन प्रयोजनका लागि दर्ता गरेका हुन्। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउने छन्।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन्। उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नु पर्नेछ।