८ मंसिर २०८१, शनिबार 1732346218
Banner

मंसिर ४ लाई विकृति हटाउने र कमजोरीहरू सच्याउने दिन बनाऔं

राजनीति हिजोभन्दा आज अझ बढी विकृत बन्दैछ, यो आरोप सत्य हो। तर राजनीति कसरी विकृत भयो ? त्यो भन्ने आँट हामीमा नहुँदा झन बढी विकृत हुन्छ कि भन्ने त्रासपूर्ण वातावरण बनेको छ। आफूलाई राजनीतिक विश्लेषक भन्नेहरू सत्यतथ्य नबुझी वा लुकाएर एकोहोरो जनमनोविज्ञान नकारात्मक बनाउने ढंगले लेखिरहेका र बोलिरहेका छन्। किन ? यो प्रश्नको उत्तर खोज्न सकियो भने “मंसिर चार जनताको सरकार” बनाउन अर्थात सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने राजनीतिक आधार तयार गर्न सकिन्छ। सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा आएका भ्रामक खबरहरूबाट भ्रमित नहोऔं किनभने ति सबै सत्य नहुन पनि सक्छन्।

नेपालमा पछिल्लो समय राजनीति राजनीतिक आदर्शअनुरूपको भएन, विचार, व्यवहार र आचरणबीच तादम्यता मिलेन अनि नेता तथा कार्यकर्ताहरूमा वैचारिक प्रशिक्षण पुगेन। जसले गर्दा पार्टी राजनीतिमा हिजभन्दा आज बढी विकृति देखियो। त्यतिमात्र होइन, आमजनता पनि राजनीतिक रूपमा साक्षर हुन सकेनन्। अर्थात अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्कृति बिस्तारै स्खलित हुँदै आयो। परिणाम स्वरूप राजनीतिमा विकृति बढ्न थाल्यो।

त्यसमाथि प्रचण्डको उपयोगितावाद र शेरबहादुर देउवाको दक्षिणपन्थी अवसरवादमा माधव नेपालको कुण्ठा अनि झलनाथ खनालको दक्षप्रजापति चरित्र घोलन भएपछि नेपालको राजनीति विकृतमात्र भएन नेपालमा नियन्त्रित अस्थिरता पनि बढ्न पुग्यो। फेरि शेरबहादुर देउवा र माधव, झलनाथ र प्रचण्ड अर्थात माझण्डहरूबीच समिकरण बन्न सक्छ भनेर केपी ओलीले अनुमान लगाउन नै सकेनन्। जसले गर्दा एकातिर नेकपा हुँदै नेकपा एमालेमा विभाजन भयो भने अर्कातिर परमादेशमार्फत जनादेश विस्थापित हुँदा देशमा राजनीतिक विकृति पनि बढ्यो।

त्यसैले आगामी निर्वाचनलाई दक्षिणपन्थी अवसरवाद, अस्थिर उपयोगितावाद र कुण्ठाहरूलाई जनमतबाट पराजित गर्दै नेपालमा नियन्त्रित अस्थिरता चाहने पक्षको रणनीतिलाई असफल बनाएर राष्ट्रिय स्वाधीनता बलियो बनाउँदै नयाँ नेपाल बनाउने अभियान अघि बढाउनु पर्छ। नेपालको वामपन्थी राजनीतिलाई प्रचण्डको अस्थिर उपयोगितावाद र माधवको कुण्ठाले त पुजिंवादी राजनीति शेरबहादुर देउवाको दक्षिणपन्थी अवसरवादले बदनाम गर्ने थप प्रयासहरू भइरहेका छन्। यो प्रयासलाई असफल बनाउने एउटै उपाय जननेता मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” अर्थात जबजबाट नेता तथा कार्यकर्ताहरू प्रशिक्षित हुने र नियमित जनतासँगको सहकार्यमा राजनीति गर्ने अभ्यास र संस्कारको विकास गर्नुपर्छ। किनभने जबजले वामपन्थी राजनीतिलाई लोकतान्त्रिक र लोकतान्त्रिक राजनीतिलाई प्रगतिशील बनाउने क्षमता राख्छ।

हिजो नेपालको राजनीतिमा बलियाका विरूद्ध कमजोरहरूको मोर्चा बनाइन्थ्यो अनि राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरिन्थ्यो। आज पनि त्यही प्रकृतिको राजनीति तथा कुटनीतिले प्राथमिकता पाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सत्ता र चुनावी महागठबन्धन त्यसको बलियो प्रमाण हो। कुनै एउटा दल कम्न्युनिष्ट वा कांग्रेस बलियो नहोस् र यी दुईमध्ये कुनै एउटा दलको बहुमतको सरकार नबनोस् भनेर नेपालमा नियन्त्रित अस्थिरता चाहने बाह्य शक्तिले कुनै एउटा राजनीतिक दललाई बलियो हुन नदिन ठूलै लगानी गरिरहेको छ। त्यो लगानीमा पछिल्लो समय देउवा र माझण्डहरू रमाइरहेका छन्।

त्यतिले पनि नपुगेर अहिले चुनावी परिणामबाट त्रिशंकु संसद बनाउन एकातिर महागठबन्धन बनाइएको छभने अर्कातिर स्वतन्त्र र स्वतन्त्र पार्टीको आतंक मच्चाउन खोजिदैछ। फेरि स्वतन्त्र भनिनेहरूलाई महागठबन्धनभित्रका नेताहरूले उपयोग गरेर एकअर्कालाई हराउने र जिताउने रणनीति पनि बनाएको हो कि भन्ने संकेत देखिन थालेको छ। दुईचार जोईको पोईको नेतृत्वमा रहेको पार्टीको वाहवाही गरेर जनमन भ्रमित बनाउन खोजिदैछ।

असल नैतिकता र आर्थिक चरित्र नभएको पात्रलाई सामाजिक र राजनीतिक रूपमा आदर्श मान्न सकिदैन्। तर दूईचार जोईका पोईको वाहवाही गरेर कस्तो राजनीतिक संस्कार र नेतृत्व अनि नेपालमा कसको स्वार्थमा चरित्रहिन अनैतिक राजनीतिलाई बलियो बनाउन खोजिदैछरु जनतालाई प्रश्न उठाउन सक्ने र चुनावलाई जनतामा राजनीतिक साक्षरता बढाउने माध्यम बनाउनु पर्ने भएको छ।

अवसरवादको नयाँ रूप१ नेपालमा पछिल्लो समय अचम्मको राजनीति हुँदैछ। एकातिर ईडिभी भर्ने लाईनमा बसेर देशलाई सराप्छन् र नेताहरूलाई तथानाम भन्छन्। तिनले डिभी परे विदेशीने तयारी गर्नेछन्, नपरे राजनीतिलाई गाली गरिरहन्छन्। तर अहिले त्यही वर्ग दुईचार जोईको पोईलाई पार्टी अध्यक्ष बनाएर ‘नो नट एगेन’ को नारा लगाउँदै सामाजिक सञ्जालबाट चुनाव प्रचारप्रसारमा होमिएका छन्। फेरि अर्कातिर एक प्रधानमन्त्रीको दाबेदारले अर्को प्रधानमन्त्रीको दाबेदारलाई चुनाव हराउने प्रपञ्च पनि गर्दैछन्।

केपी ओलीलाई हराउन महागठबन्धनले मात्र नपुगेर प्रचण्डले आफ्ना कार्यकर्ता युग पाठकलाई स्वतन्त्र उम्मेदवार बनाए। आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई हराउन गगन थापाले सागर ढकाललाई डडेल्धुरा पठाए। प्रचण्डलाई हराउन दक्षिणले बाबुराम भट्टराईलाई प्रचण्डको चुनावी रथको सारथी बनाए। अब यो खाल राजनीतिले क–कसको चुनावी रणनीति सफल हुने हो ? यसै भन्न सकिन्न, किनभने राजनीतिमा आदर्श र विश्वास हराएको छ। घनश्याम भुसाल एकाएक एमालेका विरूद्ध स्वतन्त्र उम्मेदवार बनेका छन् भने प्रभु साह गठबन्धनको हतियार।

बाह्य शक्तिलाई थाहा छ, नेपालमा नियन्त्रित अस्थिरता कायम गरेर आफ्ना स्वार्थहरू पूरा गर्न कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउनु पर्छ। कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउन नेकपा एमालेलाई कमजोर बनाउनु पर्छ। नेकपा एमालेलाई कमजोर बनाउन केपी ओलीलाई बदनाम गरेर कमजोर बनाउनु पर्छ। त्यही रणनीतिअनुसार उनीहरूले राज्यको पहिलो अंगदेखि लिएर चौथो अंगहरूमा मनग्य लगानी गरिरहेका छन्। त्यो रणनीतिलाई प्रभावकारी बनाउनका लागि अहिले घनश्याम भुसाल, ‘। र प्रभु साह कार्ड खेलिदैछ।

माधव नेपाल, झलनाथ खनाल ‘, ,र घनश्याम भुसालहरूले नेकपा एमालेलाई धोका दिन सक्छन् भने प्रभु साहले धोका दिएकोमा आश्चर्य मान्नु पर्दैन् किनभने कम्न्युनिष्ट आन्दोलनभित्र त्यस्ता खलपात्रहरू घुसाएर तिनमाथि दक्षिणपन्थीहरूले लगानी गरिरहेका हुन्छन्। त्यस्ता खलपात्रहरूलाई चिन्न र आन्दोलनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरू विचारले दीक्षित हुन प्रशिक्षित हुने र विचारअनुसारको आचरण देखाउन र व्यवहार गर्न पनि सक्नुपर्छ। अनि मात्र नेपालमा देशमुखी राजनीति र जनमुखी सरकार बनाउन सकिन्छ।

अहिले नेकपा एमालेका विरूद्ध प्रायः सबैजसो सञ्चार माध्यमहरू प्रयोग भइरहेका छन्। उनीहरूले बनाउने समाचार र त्यसका शीर्षकहरूको विश्लेषण गर्ने होभने त्यो स्पष्ट देखिन्छ। एउटै प्रकृतिका खबर भएतापनि एमाले सम्बन्धित खबर अफवाह फैलाउने नियतले शीर्षक राखिन्छ र संप्रेषण गरिन्छ। नेकपा एमाले र केपी ओलीविरूद्ध लेख्ने बोल्ने वा गतिविधिहरू जसले गर्छन्, त्यसलाई ति सञ्चार माध्यमहरूले खोजी खोजी ठाउँ दिन्छन्, रातारात सम्वाद गरेर प्रसारण पनि गरिदिन्छन्। उनीहरूको एउटै लक्ष्य छ, नेकपा एमालेलाई कमजोर बनाउने र नेपालमा नियन्त्रित अस्थिरता बढाएर बाह्य स्वार्थहरू पूरा गर्ने राजनैतिक तथा संवैधानिक परिस्थिति र जनमनस्थिति सिर्जना गर्ने।

माझण्ड र घनश्याम भुसालहरूले जनमन भ्रमित बनाउन खोज्नेछन्। त्यसबाट जोगिएर आममतदाताहरूले आफ्ना केही चासो र प्रश्नहरूका वाबजुत “समृद्ध नेपाल निर्माण गर्ने र सुखी नेपाली बनाउने” राष्ट्रिय संकल्प पूरा गर्न आगामी निर्वचानमा सूर्य चिन्ह रोजेर राष्ट्रको लागि मतदान गर्नुपर्ने भएको छ। “मंसिर ४ लाई राजनीतिक विकृति हटाउने र कमजोरीहरू सच्याउने दिन बनाउनु पर्ने भएको छ। एमालेजनले पनि जनता एकपटक फेरि अवसर दिनुस् भन्नुपर्नेछ।”