संघ र प्रदेशको आगामी निर्वाचन मतदाताहरूका लागि जटिल बन्नेवाला छ, किनभने चुनावमा राजनीतिक विचार नै नभएका अवसरवादी, नैतिक रूपमा प्रश्न उठेका, प्रायोजित भएर राजनीतिमा आएका, र भ्रष्ट अनि डुली हिंड्ने टुरिष्ट उम्मेदवारहरूले छरेका भ्रमबाट जोगिन कठिन छ। मतदाताले त्यस्ता पात्र र प्रवृत्तिहरूलाई चिनेर बहिष्कार गर्ने क्षमता देखाउनु पर्नेछ। ‘सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प’ बोकेको दल, त्यस दलले उठाएका उम्मेदवारलाई जिताएर भोलिका दिनमा देशमा वामपन्थी तथा देशभक्तहरूको प्रगतिशील सरकार बनाउन मन, वचन र कर्मले सहयोग गर्नुपर्ने जिम्मेवारी मतदाताको काँधमा आएको छ।
नेपालमा राजनैतिक तथा संवैधानिक व्यवस्था अस्थिर बनाउन र संवैधानिक सर्वोच्चता कायम हुन नदिन बाह्यशक्ति अर्थात दक्षिणपश्चिमले २०७२ असोज ३ गतेपछि नयाँ रणनीतिका साथ लगानी गरिरहेको छ। ति लगानीकर्ताहरूले २०७८ मा अदालती सेटिङ गरेर जनादेश खण्डित हुनेगरी परमादेशमार्फत माझण्डहरूको बैशाखीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउन सफल भएका थिए। आज फेरि तिनैको प्रायोजन र निर्देशनमा महागठबन्धन बनाएर चुनावमा उतारिएको छ। नेपालमा नेपाली कांग्रेसकै नेतृत्वमा फेरि पनि कम्फर्टेबल सरकार बनाउने लक्ष्य लिएको छ। भोलि यो बाटोमा तगारो बन्न सक्छ कि भनेर प्रचण्डलाई चितवन छोडेर गोरखा पुगेर उम्मेदवार बन्नुपर्ने परिस्थिति खडा गरेको छ।
प्रचण्डको उपादेयता सकिएको निष्कर्षमा पुगेको बाह्यशक्तिले उनलाई भूमिकाहिन बनाउन २०७२ असोज ३ गते देखि नै प्रयास गरेको हो, तर सफल भएको थिएन। त्यतिखेर बाबुराम भट्टराईलाई अलग्याएर नसकेपछि यतिखेर बाबुराम भट्टराईलाई नै प्रचण्डको चुनावी अभियानको सारथी बनाएर शेरबहादुर देउवाको नेतृत्वमा प्रचण्डलाई भूमिकाहिन बनाउने अर्को प्रयास स्वरूप गोरखाबाट चुनाव उठाइएको छ। किनभने नेपालको राजनीतिमा प्रचण्डमार्फत जति भद्रगोल गर्नु थियो गरिसकेपछि अब उनलाई कमजोर बनाउने रणनीतिका साथ बाबुराम भट्टराईलाई फेरि माओवादी केन्द्रमा अनौपचारिक रूपमा प्रवेश गराइएको हो। गोरखा माओवादीको बलियो जनाधार क्षेत्र भएतापनि त्यहाँबाट प्रचण्डलाई चुनाव हराउने काम हुनसक्छ जसरी २०७४ को चुनावमा वामदेव गौतमलाई बर्दियाबाट हराइएको थियो।
बुर्जुवा दक्षिणपन्थीहरूको स्वार्थ बलियो हुनेगरी प्रचण्डले गरेको राजनीतिमार्फत जनादेश नभएतापनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताको केन्द्रमा पुर्याउनुको पछाडि नेपालमा वामपन्थी राजनीति कमजोर बनाउनु हो। नेपालमा देशभक्त वामपन्थीहरूको सरकार बन्न नदिन नै नेकपा हुँदै एमालेमा पनि विभाजन गरिएको थियो। तैपनि नेकपा एमाले अपेक्षा गरिएअनुसार कमजोर नभएपछि घनश्याम भुसालहरूलाई एमालेका विरूद्ध लेख्न बोल्नमात्र लगाइएन, एमाले त्याग्न लगाएर गठबन्धनको साझा उम्मेदवार नै बनाइयो। लक्ष्य एउटै नेकपा एमालेलाई हराउने र नेपालमा नियन्त्रित अस्थिरता बढाउने अनि आफ्नो स्वार्थ पुरा गरिदिने कम्फर्टेबल सरकार बनाउने।
नेपालमा फेरि नेपाली कांग्रेसकै नेतृत्वमा कम्फर्टेबल सरकार बनाउने रणनीतिका साथ चुनावी महागठबन्धन बनेको हो। यो गठबन्धन बनाउनुको मुख्य उद्देश्य कुनै एक पार्टीको बलियो सरकार बन्न नदिने र गठबन्धनभित्रबाट देउवालाई मात्र प्रधानमन्त्री बनाउन आज प्रधानमन्त्रीको दाबेदार गर्ने गठबन्धनभित्रका उम्मेदवारहरूलाई हराउने रणनीति बनेको छ। भोलि प्रचण्ड, शेखर कोइरला, शशांक कोइराला र गगन थापाहरू चुनावमा पराजित भएभने आश्चर्य मान्नुपर्ने छैन्। २०४८ को चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराए झैं शेखर, शशांक र गगनहरूलाई चुनाव हराइन सक्छ। नेकपा एमालेलाई रोक्न देउवा नेतृत्वको चुनावी महागठबन्धनमात्र सफल नहोला कि भनेर हिजो रवीन्द्र मिश्रलाई पार्टी बनाउन सघाउनेहरूले आज रबी लामिछानेलाई राजनीतिमा उतारेर घण्टी बजाउन लागईंदैछ, त्यतिले पनि नपुगेर स्वतन्त्र उम्मेदवारहरू पनि उठाईएको छ।
केपी ओलीलाई हराउन गठबन्धनले मात्र नपुगेर २०७२ को भारतीय नाकाबन्दी ठीक भनेर पैरवी गर्ने युग पाठकलाई झापा क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार बनाइएको छ। नेकपा एमालेका अन्य उम्मेदवारले जितेतापनि केपी ओलीलाई जित्न दिन हुन्न भन्ने रणनीतिका साथ सञ्चार माध्यमहरू प्रयोग गरिएको छ। भीमबहादुर रावललाई केपी ओलीका विरूद्ध लेख्न र बोल्न पनि लगाइएको छ। मूलधारका बुर्जुवा मिडियाहरू त्यहीअनुसार प्रयोग भइरहेका छन्। तर यी सबै गतिविधिहरूका बारेमा सर्वसाधारण मतदाताहरू अनभिज्ञ हुनसक्छन्। भ्रममा पर्न सक्छन्। त्यसैले आमजनतालाई सत्यतथ्य बुझाउने र भ्रमहरूबाट मूक्त गराउने मुख्य दायित्व सच्चा देशभक्त तथा वामपन्थीहरूको काँधमा आएको छ।
चुनाव जनतालाई प्रशिक्षित गराउने र जनमतका आधार दलहरूले श्रेष्ठता हासिल गर्ने मुख्य लोकतान्त्रिक माध्यम हो अनि लोकतन्त्रलाई प्रगतिशील, जनमुखी र देशमुखी बनाउनु जनताको बहुदलीय जनवादको मूल ध्येय हो। यो ध्येय पूरा गर्न नदिन
नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकिकृत समाजवादी, मसाल, लोसपा र स्वतन्त्रहरूको घोषित अघोषित चुनावी गठबन्धन बनेको छ। उनीहरूले नेकपा एमालेलाई हराउने सर्तमा गठबन्धनमा समावेस भएर उम्मेदवारी दिएका छन्। घनश्याम भुसाल, युग पाठक र रबी लामिछानेहरू पनि त्यही गठबन्धनमा छन्।
सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेकपा एमाले र त्यसको मुख्य नेतृत्वको विपक्षमा समाचार, टिप्पणी र विश्लेषणहरू आएका छन्। यसको ध्येय भनेको एमालेप्रति जनताको धारणा नकारात्मक बनाउनु हो। त्यही ध्येयका साथ केही सञ्चार माध्यमहरूमा एमालेका विरूद्ध जनतालाई उभिन प्रेरित गर्नेगरी समाचार र टिप्पणीहरू संप्रेषण भएका छन्। नेकपा एमालेलाई चुनाव हराउने उद्देश्यका साथ ति सञ्चार माध्यमहरू उपयोग भइरहेका छन् भनेर अनुमान गर्न सकिन्छ। त्यस्तै आफूलाई राजनीतिक विश्लेषक तथा नागरिक अगुवा वा अभियन्ता भन्नेहरू पनि एमालेका विरूद्ध क्रियाशील भइरहेका छन्। यस्तो अवस्थामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले सुझबुझका साथ आत्मकेन्द्रीत नभएर राष्ट्रिय स्वार्थमा राजनीतिक गतिविधि गरेर पार्टीका उम्मेदवारहरूलाई जिताउन इमानदार रूपमा सक्रिय हुनुपर्ने भएको छ।
जनादेश विपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन मुख्य नेतृत्वदायी भूमिका खेल्ने पात्रहरूले टिकट पाएनन्। घनश्याम भुसालले एमाले छोडेर गठबन्धनको साझा उम्मेदवार बनेका छन् भने भीमबहादुर रावलले असन्तुष्ट कार्यकर्तालाई पार्टी छोड्ने कुरा हुँदैन भन्दै पार्टी नछोड्न भनेका छन्। तर पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली विरूद्ध लिखित र मौखिक अभिव्यक्तिमा रावलको एमाले कमजोर बनाउने बदनियत देखिन्छ। यस्तो अवस्थामा एमालेका नेता तथा कार्यकर्ताहरूले यो पटक अवसर नपाए अर्कोपटक अवसर पाईंन्छ भन्ने विश्वासका साथ चुनावी अभियानमा क्रियाशील हुनुपर्छ। अन्यथा गरेर भीमबहादुर रावल र घनश्याम भुसालले जस्तो आत्मघाती बाटो लिनु हुँदैन्। राजनीति गर्ने मान्छेले किङ मेकरको भावनाका साथ त्याग र योगदान गर्न पनि सक्नुपर्छ।
नेपालको राजनीतिमा दक्षिणपन्थीहरूको एउटै मोर्चा बन्दैछ। यो मोर्चाको नेतृत्व चुनावको सम्मुखमा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले गरिरहेका छन् तर चुनावपछि पनि गठबन्धन सरकारको नेतृत्व देउवाले गर्न पाउलान भनेर भन्न सकिने अवस्था छैन्। किनभने शेखर(गगन समुहले देउवा हराउने भूमिका खेल्न सक्छन्। त्यसैले वामपन्थीहरूका लागि देउवा नेतृत्वको चुनावी गठबन्धन चुनौतीको रूपमा आएतापनि नेता तथा कार्यकर्ताहरूले बुद्धि विवेक पुर्याउन सकेभने यो चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिनेछ।
आममतदाताहरूले पनि यतिखेर आफूलाई नेपाली कांग्रेसको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धन रोज्ने कि नेकपा एमालेको नेतृत्वमा रहेको देशभक्त तथा वामपन्थी शक्तिलाई रोज्ने भनेर निर्णय गर्नुपर्ने भएको छ। अन्तिम निर्णयमा पुग्नुभन्दा अघि यी दुई पक्षको तुलनात्मक अध्ययन गर्नुपर्नेछ। आममतदाताका लागि यो सजिलो विषय भने पक्कै होइन किनभने पार्टीहरूका विगत र वर्तमान अध्ययन गर्ने क्षमता र सूचना सबै मतदाताहरूमा नहुन सक्छ। त्यसैले मतदाताहरूले दल र उम्मेदवारहरूका बारेमा थाहा पाउने मुख्य माध्यम सञ्चार माध्यमहरू नै हो। तर नेपालका सञ्चार माध्यमहरू निष्पक्ष र स्वतन्त्र नहुँदा आमजनताले समाचार, टिप्पणी र विश्लेषणहरू पढेर धारणा बनाउने अवस्था छैन्। फेरि नयाँ अनि स्वतन्त्र पार्टी र उम्मेदवारहरूले छरेका भ्रमहरूले पनि आममतदाताहरूलाई अन्यौलमा पारेको छ।
यस्तो अवस्थामा सहि निष्कर्षमा पुग्न जनतालाई सजिलो छैन्। संघ र प्रदेशको निर्वाचनको सम्मुखमा आममतदाताले कुन पार्टीको विचारले जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने अवधारणा लिएको छ, बुझ्नुपर्छ। अहिले क्रियाशील दलहरू मध्ये नेकपा एमाले त्यस्तो दल हो जस्ले लोकतान्त्रिक व्यवस्थालाई प्रगतिशील बनाउने जनताको बहुदलीय जनवाद ृजबजे बाट निर्देशित भइरहेको छ। जनताको बहुदलीय जनवादले जनतालाई प्रशिक्षित गराउने र जनमतका आधारमा श्रेष्ठता हासिल गर्ने मुख्य लोकतान्त्रिक पद्धतिलाई अपनाएको छ अनि लोकतन्त्रलाई प्रगतिशील र जनमुखी बनाउनु जबजको मूल ध्येय बनाएको छ। यसर्थ मतदाताहरूले लोकतन्त्रलाई प्रगतिशील र जनमुखी बनाउने मूल ध्येय बोकेको दल र त्यसको उम्मेदवारहरूलाई जिताउनु पर्ने भएको छ।