८ मंसिर २०८१, शनिबार 1732360294
Banner

ऋषि सुनक : पहिलो पटक पराजित, दोस्रो पटक निर्विकल्प

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि ऋषि सुनक निर्विकल्प प्रधानमन्त्री बने । यसअघि लिज ट्रससँग नै पराजित भएपछि सम्भवत ४५ दिनपछि आफैँ प्रधानमन्त्री बन्छु भनेर उनले सोचका पनि थिएनन् । तर ट्रसले आफ्नो प्रतिवद्धताअनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएपछि सुनकको पालो आयो र यसपटक उनलाई कसैले पनि चुनौति दिएनन् ।

सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन् । उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् । ४२ वर्षीय सुनक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुन् । भारतीय मुलका सुनक हिन्दु धर्म मान्छन् । उनलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ट्वीट गर्दै बधाई दिएका छन् । उनले लेखेका छन्, ‘ऋषि सुनकलाई बेलायतको नयाँ प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकोमा बधाई छ । म उनीसँग मिलेर साझा हित र पाकिस्तान–बेलायतको सम्बन्धलाई मजबुत बनाउने दिशामा काम गर्न चाहन्छु ।’

सुनक बेलायती राजनीतिमा निकै छिटो समयमा उदाएका हुन् । उनी सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि नै उनी प्रधानमन्त्री बन्न सफल भए । अर्को रोचक कुरा के छ भने उनी बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री हुन् ।

ऋषि भारतीय मूलको तेस्रो पुस्ता हुन् । उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए। धेरै वर्ष पछि उनी इङ्ल्याण्डको साउथह्याम्पटन शहरमा बसोबास गर्न पुगे । त्यहाँ ऋषि सुनकको जन्म सन् १९८० मा भएको थियो। उनी यही सहरमा हुर्केका थिए ।

ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । अहिले उनीहरूका दुई सन्तान पनि छन् । उनकी श्रीमतीलाई ७३० मिलियन पाउन्ड घोषित सम्पत्तिको मालिक भनिन्छ ।

कोरोना महामारी अघि नै ऋषि सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठुलो उपलब्धि थियो किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।