बागलुङ – युवा पुस्ताका डा.सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ। व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।
बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा एमालेका केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन् । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइँ छ ।
संसदीय यात्रामा यी दुवै नेता नयाँ भने होइनन् । यो चुनाव जितेमा केसी चौँथोपटक सांसद बन्नुहुनेछ भने पाठक दोस्रोपटक । विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट प्रत्यक्ष निर्वाचित केसी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट संसद् छिर्नुभएको थियो ।
विसं २०७० को चुनावमा बागलुङ–२ मा पराजित पाठक विसं २०७४ को चुनावमा भने जीत निकाल्न सफल हुनुभएको थियो । वाम गठबन्धनको साझा उम्मेदवार बनेर बागलुङ–१ मा चुनाव लड्नुभएका पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार २९ मतले पछि पार्नुभएको थियो । पाठकको ३३ हजार ६४५ र खड्काको २० हजार ६१६ मत आएको थियो ।
यो पाँच वर्षमा चुनावी समीकरण फेरिएको छ । हिजो एकै मोर्चामा रहेका दल अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई धु्रवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । दलमा विभाजन आएको छ। यो स्थितिले चुनावी गणितमा पनि फेरबदल ल्याएको छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनमा रहेका दुई मुख्य शक्ति नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिले कांग्रेसलगायतको पाँच दलीय मोर्चामा छन् ।
यही बीचमा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल छ । अहिले सत्ता गठबन्धनका विरुद्ध एमाले एक्लै चुनावमा होमिएको छ । अघिल्लो चुनाव २०७४ मा माओवादी र जनमोर्चासहितको मत लिएर जित्नुभएका पाठकलाई यसपाली पाँच दलीय गठबन्धनको चुनौती छ ।
आआफ्नै दाबी
राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता एवं सत्ता गठबन्धनको चुनाव परिचालन समितिका सदस्य थानेश्वर सुवेदीले स्थानीय चुनावमा झैँ यसपालि पनि गठबन्धनका पक्षमा परिणाम आउने दाबी गर्नुभयो।
“गठबन्धनमा रहेका दलको जनाधार, विगत चुनावको मत आदिलाई हेर्दा चुनावी अङ्कगणितमा गठबन्धन धेरै अघि छ, ठूलो मतान्तरले हामी चुनाव जित्छौँ”, उहाँले भन्नुभयो, “अभियानमा मसिनो गरी लाग्ने, गठबन्धनको मर्मलाई शिरोधार्य गर्ने र हाम्रा मुद्दामा मतदातालाई सहमत गराउने कुरामा मेहनत चाहिँ गर्नुपर्छ ।”
चुनावमा हुनसक्ने गलत अभ्यास र चलखेललाई रोक्दै गठबन्धनमा आबद्ध पाँचै दलले आफ्नो मत सुरक्षित गर्नसके सजिलै चुनाव जितिने उहाँको भनाइ छ । नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धन दलबीचको हार्दिकता र चुस्त समन्वयका कारण मत ‘ट्रान्सफर’मा कुनै समस्या नहुने बताउनुभयो । “यत्तिकै गठबन्धन बनेको होइन, राजनीतिक मुद्दामा हामी सही ठाउँमा छौँ, यो विषयमा मतदाता पनि स्पष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गत स्थानीय तहको मत हेर्दा पनि पालिका र वडास्तरमा गठबन्धन अघि छ, गठबन्धनले चुनाव जित्नेमा कुनै शङ्का छैन ।”
अनुभवी, विवादरहित छवि, सङ्घर्षपूर्ण विगत र सरल जीवनशैली भएका अग्रज नेता केसीलाई मतदाताले सहजै जिताउने सचिव शर्माको भनाइ छ । “उमेरले पाको भए पनि विचार र जनजीविकाका मुद्दामा चित्रबहादुर केसी तन्नेरी हुनुहुन्छ, सधैं लोकतन्त्र र अग्रगमनका पक्षमा आफूलाई उभ्याउनुभएको छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने र ओजनदार व्यक्तित्व भएका कारण मतदाताले केसीलाई अनुमोदन गर्ने सचिव शर्माले बताउनुभयो । जसरी गठबन्धन दल आफ्नो मत सुरक्षित गरे मात्रै पनि चुनाव जितिने ठानिरहेका छन् उसैगरी अरु दलका र स्वतन्त्र मत तानेर चुनाव जित्ने रणनीतिमा एमाले छ ।
एमालेका जिल्ला सचिव विष्णु भुसालले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि मतदाताले यो चुनावमा एमाले रोज्ने बताउनुभयो ।
“विकास अभियानको थालनी, राष्ट्रियताका पक्षमा लिएको अडान आदि कारणले एमालेका उम्मेदवारलाई मतदाताले जिताउँछन्”, उहाँले भन्नुभयो, “बागलुङ–१ का हकमा पनि गठबन्धनकोभन्दा एमालेको उम्मेदवार नै अब्बल हुनुहुन्छ, संसद्मा अर्थपूर्ण उपस्थिति देखाउनसक्ने उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छौँ।”
पाठकले विगत पाँच वर्षमा संसद्मा खेलेको सक्रिय भूमिकालाई मतदाताले स्मरणमा राखेको सचिव भुसालले बताउनुभयो । “नवीन सोच भएको, जोश र हिम्मतले भरिएको युवा पुस्ताको नेता एमालेबाट उम्मेदवार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाको विकास निर्माणमा अगुवाइ गर्नेदेखि संसदीय राजनीति र अभ्यासमा पाठक छोटो समयमै लोकप्रिय हुनुभएको छ ।”
यस क्षेत्रमा ९६ हजार ६६५ मतदाता छन् । तीमध्ये प्रदेशतर्फ (१) मा ५० हजार ५८० र (२) मा ४६ हजार ८६ मतदाता छन् । विसं २०७४ को चुनावमा (१) बाट प्रदेशसभा सदस्यमा एमालेका इन्द्रलाल सापकोटा र (२) बाट जनमोर्चाका कृष्ण थापा विजयी बन्नुभएको थियो ।
अहिले प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट (१) मा दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री चुनावी मैदानमा हुनुहुन्छ । (२) मा गठबन्धनले डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । थापा गत चुनावमा एमालेका सापकोटासँग पराजित हुनुभएको थियो ।
खत्री, सुवेदी र पौडेल भने प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा बागलुङ–१ मा पराजित खत्रीलाई एमालेले प्रदेशको उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाउनुभएका सुवेदी ३९ वर्षको उमेरमा प्रदेशसभामा छिर्ने दाउमा हुनुहुन्छ । कांग्रेस त्यागेर केही महिनाअघि एमाले प्रवेश गर्नुभएका पौडेल पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रनुभएको छ ।