काठमाडौं : आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ।
निर्वाचनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए।
‘सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ।’
मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ।’
अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीनवटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए।
उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए। बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए।
आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ। प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन्।
सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ।