२ आश्विन २०८१, बुधबार 1726711634
Banner

भोलि महाशिवरात्री पर्व, दर्शनार्थीका लागि मास्क र सेनिटाइजर अनिवार्य

काठमाडौं । भोलि मङ्गलबार महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । कोरोना महामारीको जोखिम कम हुँदै गएपनि पशुपति क्षेत्रविकास कोषले दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई अनिवार्य मास्क र सेनिटाइजर बोक्न भनेको छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट करिब १० हजार साधुहरू पशुपतिनाथ मन्दिरमा आइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सिदा, त्रिशूल, कमण्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।

राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपतिक्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।

बिहान ४ः०० बजे पशुपतिका चार ढोका खुल्ने
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव थापाले बताउनुभयो । पशुपतिक्षेत्रमा आउनुहुने दर्शनार्थी र मन्दिरको सुरक्षालाई ध्यानमा राखेर आवश्यक स्थानहरुमा वाकथु्र गेट तथा सिसिटिभीवाट अनुगमनको व्यवस्था मिलाईएको सदस्य सचिवले बताउनुभयो । गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वष कोरोना महामारीको जोखिम केही कम भएकाले दर्शनार्थीको संख्या बढ्न सक्ने कोषको अनुमान छ । यसबर्ष १० लाखभन्दा बढी भक्तजन पशुपति दर्शनका लागि आउने कोषको अनुमान छ ।

पशुपति दर्शनमा यस्तो छ रुटको व्यवस्था

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि विभिन्न लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

वत्तिसपुतली, मैतिदेवी, पुरानो वानेश्वर तर्फबाट आउने दर्शनार्थीहरुका लागि गौशाला–पिंगलास्थान, एसविआई बैंकबाट निर्माण भएको नयाँ गेट हुँदै वनकाली धर्मशालालाई बायाँ पारेर चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने र सोही मार्ग हुँदै बज्रघर अगाडिबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था गरिएको छ ।

भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने हुँदै आउने भक्तजनहरुका लागि एअरपोर्ट, तिलगंगा क्षेत्रबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । त्यस्तै जोरपाटी, कपन, महाँकाल, चावहिल, सिफल तर्फबाट आउने भक्तजनहरुका लागि मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने र सोही मार्ग हुँदै रुद्रगाडेश्वर उक्लने फलामे भ¥याङ्गबाट उक्ली कैलाशस्थित जुत्ता चप्पल कक्षबाट बाहिरिने व्यवस्था गरिएको छ ।
जयवागेश्वरी, वालकुमारीेको बाटो हुँदै भुवनेश्वरी चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखी पशुपति पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट फर्कने व्यवस्था गरिएको छ ।
नित्य दर्शनार्थीहरुका लागि विहान ७ः०० बजेभित्र भुवनेश्वरी भएर पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।