विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति हुनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गर्नुभएको थियो । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।