४ मंसिर २०८१, मंगलबार 1732039726
Banner

एमालेले देवराज घिमिरेलाई सभामुखमा उठाउने

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमालेले जनाएको हो ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ । यसअघि एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईले सभामुखमा आकांक्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेका हुन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी घिमिरेलाई उम्मेदवार बनाउन लागिएको हो । एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।