काठमाडौँ। विवादास्पद छविका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन्। जिल्ला कारागार मोरङबाट गिरी आइतबार छुटेका हुन्।
कैदमुक्त भएपछि गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिएका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गिरी गुण्डा नाइकेको रुपमा परिचित छन्।
नेपाली कांग्रेस नेताको समर्थनमा गुण्डागर्दी गर्दै आएको आरोप लागेका उनी राजनीतिक पहुँचकै आधारमा दोस्रो पटक मोरङ आएर कारागारको चौकिदार बनेका थिए। चौकीदारकै रुपमा कैद अवधि पूरा गरे।
२०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका गिरीको गत पुस २९ गते भिमफेदी कारागार सरुवा भएको थियो। तर उनले जान नमानेपछि प्रशासन पछि हट्यो। गिरीले मोरङ कारागार छाड्न नमानेपछि प्रशासनले मोरङबाटै थुनामुक्त गर्ने प्रकृया अगाडि बढाएको थियो।