काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएकाे छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएकाे हाे ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयकाे दाबी गरेकाे थियाे तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिनुभएकाे हाे ।
जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनुभएकाे हाे ।
पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजिनामा दिनुभएकाे हाे ।
मन्त्री खानकाे राजीनामासँगै जनमत सरकारबाटै बाहिरिने तयारी गरेकाे छ । जनतम पार्टीले आफ्ना मागहरु सरकारले सुनुवाइ नगरेको भन्दै सरकार छोड्ने चेतावनी दिएको हो।