७ जेष्ठ २०८३, बिहिबार 1779422456
Banner

अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट २३ जना पक्राउ

काठमाडौं । जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।

पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको हो। कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो।

साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

‘कम्प्युटरमा अनलाइनमा बसेर उनीहरू विभिन्न एप्स खोलेर चलाइरहेका थिए। वास्तविकता के हो हामीले अनुसन्धान गरिरहेकै छौँ,’ उनले भने।