काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ। गत मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो ।
कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रूप दिइनेछ।
आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो।