काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताउनु भएको छ ।
आज नेकपा एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्ता गठबन्धनले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन । अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’
उहाँले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताउनु भयो । उहाँले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन ।’