२२ बैशाख २०८३, मंगलबार 1778000471
Banner

गृहमन्त्री श्रेष्ठको बालेनलाई जवाफ, ‘बल प्रयोगको अनुरोध गरेर मात्र समन्वय हुँदैन’

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूलाई असहयोग गरेको आरोपको खण्डन गरेका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए।

संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताए । उनले मेयर बालेनले बल प्रयोग गर्न मात्र अनुरोध गर्ने बताए । मन्त्री श्रेष्ठले भने, ‘बल प्रयोग गर्न अनुरोध मात्र गरेर समन्वय हुँदैन ।’

‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन। यसबारे महानगर मेयरलाई प्रष्ट भनेको छु,’ श्रेष्ठले भने, ‘तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा त पुग्न पर्‍यो नि। तपाई आफैँले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौं। तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा अघि बढ्नुपर्छ।’