काठमाडौं- नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन हुनुभएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उहाँलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिनुभयो ।
चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको हो । उहाँ कैलालीबाट प्रतिनिधित्व गर्नुहुन्छ । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।
बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिनुभयो ।
सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराउनुभएको थियो ।