१० मंसिर २०८१, सोमबार 1732545400
Banner

आफूलाई कारबाही गरे कोर टीमको नाम सार्वजनिक गर्ने श्रेष्ठको चेतावनी, छानविनको प्रतिवेदन आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफुलाई मात्र कारबाही गरे कोर टीमको नाम घोषणा गर्ने चेतावनी दिएका छन । समितिले हिजो सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो । बयानमा श्रेष्ठले आफूलाई फसाउन खोजिएको र आफूलाई मात्रै कारबाही गरे अन्य व्यक्तिका बारेमा पनि बोल्ने बताएको समितिका एक सदस्यले बताए । आफूलाई समस्यामा पारेर कारबाहीको प्रकृया अघि बढाए कोर टीमका बारेमा बोल्न बाध्य हुनेछु भनेर जवाफ दिएको समितिका ती सदस्यको भनाइ छ । आफुलाई फसाउन षडयन्त्र भईरहदा पार्टीले सहयोग नगरेर एक्ल्याउन खोजेको उनको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा आज निर्णय लिने बताएको छ । बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । समितिले दिने प्रतिवेदनका आधारमा आजको बैठकले कारबाहीको विषयमा निर्णय लिइने बुझिएको छ ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि ढाकाकुमार विवादमा परेका हुन ।