काठमाडौं। नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न पेरिस डाँडामा पाइने भएको छ । माओवादी मन्त्री भेट्न अब सिंहदरबार धाउन नपर्ने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागेको हो।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा एक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँदैछौं,’ सचिव ढकालले भने ।
कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने गरी व्यवस्थित गर्न लागिएको उनको भनाइ छ ।