१४ श्रावण २०८३, बिहिबार 1785427350
समाचार

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बार एसोसिएसनले प्रधानमन्त्री भेट्दै

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ ।

यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो।

एक वर्षदेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिए। प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ।

यसबारे भेटमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।