७ भदौ २०८३, आइतबार 1787521734
Banner

राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो बिदेश भ्रमण बेलायतबाट हुने, वैशाकको तेस्रो साता प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट शुरु हुने भएको छ। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेका हुन्।

राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदै छ। राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने तय भएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ।

राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने बेलायती सञ्चारमाध्यमले जनाएका छन्। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।

बकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।