८ मंसिर २०८१, शनिबार 1732404966
Banner

यमनमा सहयोग वितरणस्थलमा भागदौड हुँदा ८५ जनाको मृत्यु

युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा परी ८० जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका हुथीका अधिकारीहरूले बताएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल–फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको हो । हुथीका एक सुरक्षा अधिकारीका अनुसार राजधानी यमनको बाब अल–यमन जिल्लामा भएको भागदौडमा परी कम्तीमा ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका छन् ।

उनले भने, “मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।” अर्का एक स्वास्थ्य अधिकारीले मृतकको उक्त सङ्ख्या पुष्टि गरेका छन् । हुथीको नियन्त्रणमा रहेको सानास्थित एएफपीका एक संवाददाताका अनुसार यो घटना एक विद्यालयभित्र भएको हो, जहाँ सहायता वितरण भइरहेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार गरिबीको चपेटामा परेको यस देशमा सयौं मानिसहरू खाद्यान्न लगायतका आधारभूत समग्रीको सहयोग लिन भेला भएका थिए । हुथी विद्रोहीको अल मसिराह टिभी च्यानलले प्रसारण गरेको एक भिडियोमा शवहरूलाई एकसाथ पोको पारिएको देखिएको छ र मानिसहरू उक्त स्थानमा एक अर्कामाथि चढेर आफ्नो बाटो बनाउने प्रयास गरिरहेका छन् ।

धेरैको मुख अरूको हातले छोपेको थियो भने बाँकी शरीर घना भीडले ढाकेको फुटेजमा देखाइएको छ । सैनिक पोसाकमा सजिएका सशस्त्र लडाकुहरू र वितरण कर्मीहरूले भीडलाई चिच्याउँदै मानिसहरूलाई भागदौडबाट बाहिर निकाल्ने क्रममा पछाडि फर्कन आग्रह गरे। हुथीको गृह मन्त्रालयले विद्रोहीको समाचार संस्था सबाद्वारा जारी गरेको विज्ञप्तिमा मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र वितरणमा जिम्मेवार व्यक्तिहरूलाई हिरासतमा लिइएको जनाएको छ । मन्त्रालयले यकिन सङ्ख्या भने नदिएको तर केही व्यापारीले अनियमित रूपमा रकम वितरण गर्ने क्रममा भागदौड मच्चिँदा दर्जनौं व्यक्तिको मृत्यु भएको जनाएको छ । हुथीका राजनीतिक प्रमुख महदी अल मशातले घटनाको छानबिनका लागि एक समिति गठन गरिएको बताएका छन् । हुथीका एक सुरक्षा अधिकारीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको बताएका छन् । मृतक र घाइतेलाई भेट्न उच्च अधिकारीहरू पनि गएकाले धेरैलाई अस्पताल जान दिइएन । एजेन्सी